नेपालमा साइबर आक्रमण बढ्नुमा प्रयोगकर्ता कति जिम्मेवार ?

Feb Tue 2020 08:40:56

674 views

नेपालमा साइबर आक्रमण बढ्नुमा प्रयोगकर्ता कति जिम्मेवार ?

साइबर सुरक्षाका बारेमा अहिले विश्वव्यापि बहसहरु भइहरहेका छन्। पछिल्लो समय ब्याङ्क तथा वितिय क्षेत्रहरुमा साइबर हमला बढिरहेका छन्। यही क्रममा नेपालमा पनि सरकारी वेबसाइटहरू र ब्याङ्किङ् प्रणालीमा साइबर हमला भइरहेको छ। यसरी साइबर हमला बढ्नुमा क-कसको भूमिका हुन्छ भन्ने विषयले समेत चर्चा पाइरहेको छ।

नेपालमा साइबर हमला बढ्नुमा ब्याङ्कहरूले अपनाएको साइबर सुरक्षाको अवस्थाका साथसाथै प्रयोगकर्ताहरूको पनि ठूलो भूमिका रहेको साइबर सुरक्षाविज्ञहरू बताउँछन्। साइबर सुरक्षाका एकजना जानकार विजय लिम्बु भन्छन्, ‘प्रयोगकर्ताले सावधानी नअपनाउनुले नेपालमा साइबर सुरक्षा जोखिमलाई धेरै नै बढाएको छ। त्यसको कारण प्रयोगकर्तामा साइबर सुरक्षाबारे ज्ञानको कमी पनि हुन सक्छ।’

अहिले सूचनाप्रविधि तथा इन्टरनेट आधारभूत आवश्यकताको विषयमा परिरहेका छन्। साइबर सुरक्षाविज्ञहरूका अनुसार नेपालीले अहिले दिनको करिब सात-आठ घण्टा कम्प्युटर वा इन्टरनेटमा बिताउने गरेका छन्। त्यसले गर्दा पनि प्रयोगकर्ता सबैभन्दा बढी संवेदनशील हुनुपर्ने उनीहरुको सुझाव छ।

प्रयोगकर्ताको तहमा हुने कमजोरीका कारण हुने साइबर हमलाहरू रोक्नलाई प्रयोगकर्ताहरूले विशेष ध्यान दिनुपर्ने विज्ञ र अधिकारीहरू बताउँछन्। उनीहरूका अनुसार केही प्राथमिक कुराहरूमा ध्यान दिने हो भने प्रयोगकर्ता तहबाट सूचना चुहिने र साइबर हमला हुनसक्ने जोखिमलाई निक्कै घटाउन सकिन्छ।

सबैभन्दा पहिले ब्याङ्क तथा वित्तीय संस्थाहरू र अन्य संस्थाका पनि सूचनाप्रविधि प्रणालीमा पहुँच भएका र त्यसलाई प्रयोगकर्ताहरूले संवेदनशीलता अपनाउनु पर्ने साइबर सुरक्षाविज्ञहरूको तर्क छ।

प्रयोगकर्तालाई विज्ञहरूका सुझाव:

  • आफूले काम गर्ने स्थान र व्यक्तिगत कामका लागि प्रयोग गर्ने डिभाइस भिन्नभिन्न राख्ने
  • व्यक्तिगत प्रयोजनका लागि कार्यालय वा काम गर्ने स्थानका डिभाइस प्रयोग गर्नुपर्ने अवस्था आएमा उच्च सुरक्षा प्रबन्ध गर्ने
  • एकदमै सुरक्षित खाले युजर नेम र पासवर्ड राख्ने
  • दुई तहको अथेन्टिकेशन राख्ने
  • सामाजिक सञ्जालहरूमा आउने कुनै पनि लिङ्कहरू सीधै नखोल्ने
  • स्मार्टफोन र अन्य डिभाइसमा भेरिफाइड तथा सुरक्षित एप्लिकेशनहरू मात्र राख्ने
  • आफ्ना सूचनाहरू सकेसम्म जताजतै शेअर नगर्ने
  • आफ्ना ब्याङ्क कार्डहरूको विवरण जता पायो त्यतै अप्डेट नगर्ने
  • जुन पायो त्यही अनलाइन कारोबार गर्ने कम्पनीहरूबाट खरिद नगर्ने
  • अन्लाइन भुक्तानीको सुविधा लिनुपर्दा उक्त कम्पनीले डेटा सुरक्षा गर्न सक्छ कि सक्दैन, रकम हरायो वा चोरियो भने फिर्ता गर्न सक्छ वा सक्दैन, उसका सर्तहरू कस्ता छन् पढेर मात्र सेवा लिने
  • - By लाेकपाटी न्यूज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?