Breaking News

होली एक : कथा प्रसंग अनेक

Feb Tue 2020 08:40:22

5309 views

होली एक : कथा प्रसंग अनेक

पदम श्रेष्ठ

हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन राजधानीको बसन्तपुरमा रंगीचंगी कपडाको छत्रझल्लरसहितको चीर गाडिएपछि होली पर्व शुरु हुन्छ । होली फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म आठ दिनसम्म मनाइन्छ । होली पूर्णिमा नेपालका तराईबासी र भारतबासीले अत्याचारी शासक हिरण्यकश्यपुकी बहिनी होलिका दहनका रुपमा पूर्णिमाको भोलिपल्ट मनाउँछन् भने नेपालको हिमाली र तिब्बतमा ल्होसार नयाँ वर्षको अन्तिम पूजाका रुपमा यो पर्व मनाइन्छ । हिमालपारीको जिल्ला मुस्ताङका थकालीहरु तोरन्ल्ह कूलपूजा गरी यो पर्व मनाउँछन् । तर राजधानीवासी नेवारहरुले मनाउने होलीको कथा प्रसंग भने ल्होसार र होलिका दहनभन्दा छुट्टै रहेको छ । सिंहसार्थ बाहु (गरुढ महाराज) ल्हासा व्यापार गर्न जाँदा राक्षसनीहरुको प्रेम जालमा फसी आफ्ना ७ सय व्यापारी साथी उनीहरुको आहारा बने पनि आफू करुणामयको प्रतापले बच्न सकेको खुशियालीस्वरुप होली पर्व मनाउने गरिएको किंबदन्ती छ ।

नेपाललगायत विभिन्न मुलुकमा होली

अमेरिकामा प्रत्येक वर्ष ३१ अक्टोबरका दिन हेलोविन पर्व रंग अविर छ्यापाछ्याप गरी मनाइन्छ । अफ्रिकामा अत्याचारी जंगली राजा प्रिन्स बोगाको पुत्लालाई थोत्रो कपडा र जुत्ताको माला ओढाई आफूले आफैलाई रंग दलेर नाचगान गर्दै सो पर्व मनाइन्छ । जर्मनमा इस्टर महोत्सव, चीनमा च्वेजे पर्वका दिन बलिरहेको आगोवरिपरि परिक्रमा पश्चात् पानी छ्यापाछ्याप गरी रंगको पर्व मनाइन्छ । नेपालमा लोला हान्ने परम्परा च्वेजे पर्वकै प्रतिकृति हो । थाइल्यान्डमा थाङकान, स्वीडेन, चेकस्लोभाकियामा बोलिया कनोन्से, बेल्जियममा पुराना जुत्ता जगाएर त पोल्यान्डमा आर्सिन नाउँमा होलीपर्व खेल्ने परम्परा रहेझैं नेपालमा प्रत्येक वर्ष फागु पूर्णिमाका दिन यो पर्व धूमधामसाथ मनाइन्छ । उपत्यकामा होली फागुन शुक्ल अष्टमीका दिन बसन्तपुर कुमारीघरको दाहिने कुनामा नेपालमा प्रचलित विभिन्न जातजातिले पहिरने कपडाको छत्रलिङ्ग चीर गाडेपछि पूर्णिमासम्म आठ दिनसम्म होली पर्व रङ्ग अबिर र पानी छ्यापी मनाइन्छ । अविरया होली तँ चाया ला ल्यासे अविरं छड्डु ख्वा हिसि दयकाबिई न्हापालिपा मछासां थौंला प्याखं हुला क्यों ख्वालय् मखु नेतालय् अबिर तया क्यों वसन्त ऋतुको आगमन र हेमन्त ऋतुलाई बिदाई गर्ने यो पर्वमा गाइने होली गीत गाउँदै युवायुवती बीच खुलेर हास्ने र रङ्ग छ्यापाछ्याप गरेर मन साट्ने हुँदा यस पर्वलाई ‘भ्यालेन्टाइन डे’ सप्ताहका रुपमा पनि लिइन्छ ।

सिंहसार्थ बाहु होली र सिंगै राँगाको मासु

उपत्यकाको छुट्टै आख्यानअनुसार परापूर्वकालमा थबहिल (ठमेल) निवासी प्रख्यात व्यापारी सिंहसार्थ वाह आफ्ना ७ सय व्यापारीका साथै तिब्बतको ल्हासा पुगेर फर्कने क्रममा ब्रम्हपुत्र नदी पार गर्न लाग्दा अति सुन्दरी केटीको भेषमा राक्षसनीहरुले प्रेमजालमा फसाउँछन् र राति राक्षसनीले आहारा बनाइदिन्छन् । तर सिंहसार्थ वाहु मात्र करुणामय भगवान्को प्रतापले वायुपङ्खी घोडामा बसी काठमाडौं पुग्न सक्षम हुन्छन् । यही खुशियालीमा प्रत्येक वर्ष वसन्तपुर कुमारीघरनेर चीर उठाई हर्षोल्लासपूर्वक सप्ताहव्यापी होली मनाउन थालिएको बताइन्छ । उनै राक्षसनीको प्रतिकृति स्वरुप फागु पूर्णिमाको रात वसन्तपुरको चीर लगी टुंडिखेलमा दहन गर्ने र इतुम्बहालबाट एउटा सिङ्गै राँगाको मासु र एकमुरी चामलको भात लगी गुरुमापा राक्षसलाई चढाउने गरिन्छ । यसबारे प्रचलित आख्यानुसार रोएर दुःख दिने बच्चाबच्चीलाई फकाउन जब आमाबाबुले चूप लाग नत्र गुरुमापालाई दिएर पठाइदिन्छु भन्ने गुरुमापा रातमा आई साँच्चै लिएर गइ खाइदिन्थे । यसबाट आजित अभिभावक इतुम्बहालका निर्माता केशचन्द्र कहाँ शरण लिन पुग्दा गुरुमापालाई वाचा गराइन्छ कि प्रत्येक वर्ष फागुपूर्णिमाको रात एक मुरी चामलको भात र एउटा सिङ्गै राँगाको मासु चढाइनेछ । तर बालबच्चाको रक्षा गर्नु पर्नेछ । यही वाचा पूरा गर्दै प्रत्येक वर्ष सो परम्पराले निरन्तरता पाएको हो । चकंद्यः थँबहिल जात्रा र सिंह सार्थबाह फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा चीर उठाएकै दिन ठमेलस्थित विक्रमशील महाविहार (सिंहसार्थ बाहु) थबहिलको गजुरदेखि भुइँसम्म तोरणपताकाद्वारा अभिषेक गरेपछि होलीपर्व शुरु हुन्छ । आठ दिने होली पर्वपछि विधिपूर्वक चीर जलाएपछि थँबहिलको चकँद्यः जात्रा ज्याठा, छुस्या बहाल, असन, इन्द्रचोक, हनुमानढोका, कुमारीघर, मरु नगरपरिक्रमा गरी मनाइन्छ । त्यहाँबाट प्याफल, नरदेवी, टेंगल, बाङ्गेमुढा, ठँहिटी, क्वाबहाल हुँदै थँबहिल भिœयाएपछि चकँद्यः (सिंहसार्थ बाहु) जात्रा सम्पन्न हुन्छ । चाँगुनारायण खटजात्रा भक्तपुरको चाँगुनारायण वंश गोपालकृष्ण रथयात्रा प्रत्येक वर्ष फागु पूर्णिमाका दिन भव्य खट जात्रा हुने गर्दछ । कृष्णराधा बीचको रंग खेललाई आधार बनाई हुने चांगुनारायण वंश गोपाल खट जात्रा तान्त्रिक अनुष्ठान पूजापाठसहित राधाकृष्ण रुक्मिणीको सुन्दर मूर्तिसहित नगरपरिक्रमा गर्दै मनाइन्छ । खट जात्रा सिन्दूरे जात्रा गर्दै चाँगु क्षेत्रको बलम्बू, तखादों, ढोका टोल लगायतका टोलमा परिक्रमा गर्ने गरिन्छ । तराई क्षेत्रमा होली पर्व सत्ययुगमा विष्णुभक्त प्रल्हादलाई आफ्नै पिता दैत्यराज हिरण्यकश्यपुरले हत्या गर्न गरेको अनेक प्रयासबाट पनि केही नलागेपछि आफ्नै बहिनी होलिका (जसले शिव भगवान्को आगोबाट नडढ्ने वरदान पाएकी थिइन्)को काखमा राखी जलाउन खोज्दा होलिका जलिन् तर प्रल्हाद जस्ताको तस्तै आगोबाट बाहिर निस्किए । यसरी असत्यमाथि सत्यको विजयस्वरुप होलिका दहन उत्सवका रुपमा प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन तराई र भारतमा भव्य हर्सोल्लासपूर्वक होली पर्व मनाइन्छ । त्यसै गरी द्वापरयुगमा कृष्णलाई मार्न गोकुलबाट पठाइएको पुतना नाम गरेका राक्षसनीको स्तन चुसेर मारिदिएको खुशीयालीमा होली खेल्न थालिएको कथन छ भने शिवपुराणमा सतीदेवीको वियोगमा तपस्या गरिरहेका शिवलाई कामवाण प्रहार गरी ब्युँझाउने दुष्प्रयास गर्ने कामदेवलाई तेस्रो नेत्रद्वारा भष्म गरिएको खुशीयालीमा होलीपर्व मनाउन थालिएको पनि अर्को आख्यान पाइन्छ । मिथिला होली मिथिला क्षेत्र (जनकपुर) परिक्रमाको सातौं दिन फागुन शुक्ल सप्तमीका दिन राम र सीताका सखीबीच होली खेलेको सम्झना गर्दै भव्य फागु खेलिन्छ । त्रैतायुगको सो पर्वको स्मृति गर्दै होली खेल्न बिहान सबेरै ध्रुवकुण्डबाट रंग अबिर खेल्दै ८ कि.मी.को यात्रासहित जनकपुरको रामजानकी मन्दिरमा अबिर अर्पणपछि कञ्चनवनमा होलीको शुरुआत गरिन्छ । मिथिलावासीका लागि दशैंतिहार भन्दा पनि ठूलो चाड होली मनाइने कञ्चनवन सीतारामबीच यौनक्रिया भएको पवित्र स्थलका रुपमा लिने गरिन्छ । थकालीको तोरन्ल्ह इष्टदेवता र पितृको स्मरण गर्दै हिमालपारीको जिल्ला मुस्ताङमा आदिवासी थकालीले मनाउने तोरन्ल्ह प्रत्येक वर्ष फागु पूर्णिमाका दिन मनाइन्छ । थकालीभित्रका चार चन अर्थात् शेरचन, तुलाचन, हिराचन र भट्टचनले आ–आफ्ना इष्टदेवताको विशेष पूजा र तारो खेल्दै तोरन्ल्ह मनाइन्छ । ग्याल्बो ल्होसार फागु प्रतिपदादेखि धान, जौ, मकै, गहुँको जहरा (जमरा) भगवान् बुद्धको मूर्तिमा उमारेर थालिने ग्याल्बो ल्होसार होली पूर्णिमासम्म विविध पूजा सांस्कृतिक कार्यक्रम गरी मनाइन्छ । गहुँ, जौ, चामल वा अन्नको पिठोमा चिनी घिउसँग मुछी बनाइएको खाप्से (एक प्रकारको भिर रोटी फाफर, कोदो आदि पिठोमा मासु हालेको पानीरोटी, तरुल भ्याकुर, सखरखण्डलगायतका कण्डमूल, सुन्तला, बदाम, नरिवल जस्ता फलफूल र माछामासुका परिकार खाने खुवाउने र विविध झाँक्री नृत्यसहित ल्होसार मनाइन्छ । फागुपूर्णिमाका दिन महायानी गुम्बामा आयोजित भव्य सांस्कृतिक झाँक्री नृत्यु पूजाका साथ गुरु रिङपोछेबाट आशिर्वाद र शुभकामना आदानप्रदान गर्ने गरिन्छ । सहभागीहरुलाई चिनी, सख्खर, महको सर्बत, दूध, दही, नौनी मिलाएर बनाएको कारसुम वा तामा, फलाम, सुन, चाँदी पवित्र रत्नको सर्बतका साथ गाता ओढाएर आकाशमा पिठो छरेर फागुपूर्णिमा मनाइन्छ । लेखक इतिहास खोजकर्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?