छि: म ! सामाजिक सञ्जालमा कमेन्ट र मेरो वास्तविकता....

Feb Tue 2020 08:40:39

770 views

छि: म ! सामाजिक सञ्जालमा कमेन्ट र मेरो वास्तविकता....

सामाजिक सञ्जालमा मैले आज एकदिन गरेका प्रतिनिधि कमेन्ट र मेरो वास्तविकता....

बिहान उठ्नेबित्तिकै केही साथीहरूले क्रिसमसको शुभकामना दिएका रहेछन् (गैर क्रिष्चियनहरुले) ,मैले पनि धन्यवाद दिंदै उनीहरूलाई पनि कामना व्यक्त गरें । यो काम कमेन्ट बक्स हुँदै फेसबुकको सञ्जालसम्म दिनभरि जस्तै रह्यो । अर्थात क्रिष्चियानिटीसँग कुनै सम्बन्ध नरहेको मैले आफूलाई बडो धार्मिक सहिष्णुता भएको र उदार व्यक्तिको रूपमा पेश गरें ।

दिनभरिमा कसैको सन्तान जन्मिएको ,कसैले वैवाहिक वर्षगाँठ मनाएको पोस्ट पढें ।त्यसमा बधाई र शुभकामना दिएँ। अर्थात मित्रहरुको खुसीमा म पनि उत्तिकै खुसी छु भनेर आफूलाई मित्रहरुको भलो चाहने सामाजिक पात्रको रूपमा पेश गरें ।

देश विदेशका खबर पढें ,। राष्ट्र/परराष्ट्रका गलत र सहि कामको विश्लेषण गर्दै गरें। अझ नढाटी भन्दा सकारात्मक भन्दा नकारात्मक पोस्टहरुमा आफ्नो पाण्डित्यता प्रदर्शन गर्दै यसो नभएर यसो भएको भए हुन्थ्यो भनें। २/४ जना नेतालाई गाली गरें । अर्थात राष्ट्रिय /अन्तर्राष्ट्रिय विषयमा पनि म उत्तिकै जानकार छु ,मलाई पनि समाज र राष्ट्रको उत्तिकै चिन्ता छ भनेर आफूलाई बुद्धिजीवी देखाएँ ।

साथीहरूलाई खुसी पार्न केही कार्यक्रमका ब्यानर शेयर गरें, केही समसामयिक विषयमा आफ्नो विचार प्रस्तुत गरेर स्टाटस लेखें । अर्थात आफू हरेक घटना सँग अद्यावधिक भएको प्रमाण पेश गरें ।

यी सबै औपचारिकताका लागि निभाइएका औपचारिकता थिए । यहाँसम्म त ठीकै छ यसले कसैलाई प्रत्यक्ष रूपमा कुनै तात्विक असर पार्दैन । तर मैले अन्य कमेन्टहरु पनि गरें जस्तैः एकजना नजिकको साथीको आमाको देहावसान भएछ ,मैले अत्यन्तै भावुक हुँदै श्रद्धाञ्जली दिएँ र कमेन्टमा र म्यासेजमा पनि त्यो साथीलाई समवेदना प्रकट गरें । 'समवेदना' अर्थात तिमीलाई पुगेको चोटले मलाई पनि उत्तिकै दुखेको छ । तिमीसँगै मलाई पनि पीडा भएको छ भन्ने आशय व्यक्त गरें ।

त्यसको केही बेरपछि एकजना राम्री केटीले फोटो अपलोड गरेकी रहिछन् । बाहिर बाहिर चिप्ला शब्दमा उनको प्रशंसा गरें ,मनमनै र्याल काढें । कमेन्टमा गएर उनको नितम्ब र वक्षस्थलको अवयवको तारिफ गर्दै मख्ख पारें ।

एकछिन पछि देशमा सडक दुर्घटना भएको समाचार पढें । क्राइङ स्टिकर हालेर मृतक आत्माको शान्तिको कामना गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरें । अर्थात यहाँपनि मैले आफूलाई अरु दुखेको बेल म पनि दुख्ने र अरुको चिन्ता गर्ने पात्रको रूपमा आफूलाई प्रस्तुत गरें ।

त्यसको केहीबेर पछि एकजना साथीले आज त क्रिसमस हो जम्नुपर्छ यार ! के छ प्लान भन्यो । मैले पनि मौसमले पनि च्यालेन्ज गरेको छ ल जम्ने भए जमौंन त भन्दै सुरा र सपेटाको साथमा त्यो साथीसँग अरु व्यक्ति र प्रवृत्तिको बारेमा नकारात्मक कुरा काट्दै दिनको अन्त्य गरें ।

म कति नौटंकी ! म कति औपचारिक ! म कति पत्थर हृदयको ! म कति यान्त्रिक ! छि: म कति घिनलाग्दो !!

एकछिन अगाडि त्यो साथीको आमाको निधनमा समवेदना प्रकट गरेको मैले एकछिन पछि एउटा तरुनीको शरीरमा कसरी लिप्त हुन सकें होला ?मैले त कमेन्ट र म्यासेजमा मलाई पनि तिमीलाई जस्तै पीडा भएको छ भनेको थिएँ नि ! मलाई शब्दमा समवेदना लेख्नु बाहेक किन अलिकति नदुखेको होला ।

उता सडक दुर्घटनामा कतिजनाको घर उजाडिएको होला ! कति जनाको सिउँदो पखालिएको होला ! कतिको घरमा अहिले कस्तो दर्दनाक अवस्था होला ! कि मैले त्यो नपढेको भए हुन्थ्यो ! कि पढेर पनि वास्ता नगरेको भए हुन्थ्यो । अरुलाई चाहिँ मेरो पनि मुटु फुटेको छ जस्तो देखाएर फेरि सुरा र सपेटा लुछ्न कुन मानवीयताले दियो होला मलाई !

देश र समाजको कुरा उठ्दा ट्रम्पदेखि वलीसम्मलाई सल्लाह र सुझाव दिने म साथीसँग कुरा गर्दा चाहिँ किन हरेकको बारेमा नराम्रो टिप्पणी मात्रै गर्छु होला !!

समग्रमा मैले दिनभरिमा कति जनालाई बधाई र शुभकामना दिएँ ,कतिजनालाई श्रद्धाञ्जली र समवेदना लेखें ,कति जनालाई तँ खराब र म सहि भनें ,कतिवटा लभ रियाक्ट, कतिवटा क्राइङ रियाक्ट ,कतिवटा हाहा रियाक्ट गरें, कति जनालाई तेल लगाएँ ,कति जनाको धोती उतारें म आफैलाई थाहा छैन ।

मेरो मानवीयता खै होला ? मेरो नैतिकता खै होला ? मेरो संवेदना किन मर्यो होला ? एकैदिनमा एकैछिनमा यति धेरै रंग फेर्नसक्ने के म साँच्चै मान्छे हूँ र ?

Source :   जे. सागर  FB

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?