सवाल सुरक्षित इन्टरनेटको, पहिलोपटक सुरक्षित इन्टरनेट दिवस नेपालमा

Feb Tue 2020 08:40:27

433 views

सवाल सुरक्षित इन्टरनेटको, पहिलोपटक सुरक्षित इन्टरनेट दिवस नेपालमा
नेपालमा पहिलोपटक ‘सुरक्षित इन्टरनेट दिवस’ फेब्रुअरी ५ तारिख २०१९ (२०७५ माघ २२ गते) नेपालमा पहिलोपटक चाइल्डसेफनेटको सक्रियतामा मनाइँने भएको छ । साइबर सुरक्षासम्बन्धमा चेतना अभिवृद्धि गर्ने; बालबालिका तथा युवा वर्गको संलग्नतामा उनीहरूकै लागि काम गर्न विभिन्न संस्थाहरूबीच सामूहिक शक्ति विकास गर्ने तथा बालबालिका तथा युवा वर्गलाई अनलाइन सुरक्षा प्रदान गर्नका लागि जिम्मेवार व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सुरक्षित इन्टरनेट दिवस प्रत्येक वर्ष विश्वका एक सयभन्दा बढी देशमा आयोजना गर्ने गरिएको छ । चाइल्डसेफनेटका अध्यक्ष श्री अनिल रघुवंशी भन्नुहुन्छ, “यस विश्व दिवसले प्रविधिको सकारात्मक प्रयोगसम्बन्धी जानकारी प्रकाशमा ल्याउन तथा राम्रो एवं सुरक्षित अनलाइन समुदाय सिर्जना गर्नका लागि अवसर उपलब्ध गराउँछ । सुरक्षित इन्टरनेट संसार सिर्जनाका लागि सघाउने अभियानमा सहभागी बन्न यस दिवसले युवा वर्ग, अभिभावक, शिक्षक, समाजसेवी, सामाजिक संस्था, सञ्चारकर्मी, नीति निर्माता, प्रहरी, इन्टरनेट सेवा प्रदायकहरू, नीजी क्षेत्र तथा सबै इन्टरनेट प्रयोगकर्तालाई आह्वान गर्दछ ।” सूचना र प्रविधिको सहज पहुँचले नेपालमा पनि बालबालिका तथा युवाले प्रविधिको अत्याधिक प्रयोग गर्ने गरेका छन् ।” नेपाल दूरसंचार प्राधिकरणको पछिल्लो प्रतिवेदन अनुसार नेपालका ५६.४१ प्रतिशत जनताले ब्रोडब्याण्ड इन्टरनेट प्रयोग गर्दछन् । फेसबुक, ईन्स्टाग्राम, यूट्यूब र ट्वीटरका साथै टीकटक र स्नापच्याट प्रयोग गर्नेहरुको संख्या पनि धेरै छ । नेपालमा फेसबुकको मात्र झण्डै एक करोड प्रयोगकर्ता छन्, जस मध्य आधा भन्दा बढी २५ वर्षमुनीका युवा तथा बालबालिका हुन् । डिजिटल प्रविधिको असुरक्षित प्रयोगले बालबालिका तथा युवामा अनलाइन यौन दुव्र्यवहार एवं शोषण, साइबर बुलिङ्ग, छलकपट (फिसिङ्ग) तथा यौनजन्य गैरकानुनी असुली (सेक्स्टोर्सन) जस्ता गम्भीर जोखिम बढिरहेकोछ, जसले उनीहरुको मानसिक,ं बौद्धिक र शैक्षिक विकासमा बाधा पार्नुका साथै उनीहरूलाई असामाजिक बनाउने, हतोत्साही गर्नेे र उनीहरूको आत्मसम्मानमा घटाउने जस्ता प्रभाव पार्ने सम्भावना हुन्छ । विश्वमा प्रत्येक वर्ष फेब्रुअरीको पहिलो हप्ता मनाइँदै आएको छ । चाइल्डसेफनेट बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधि सुरक्षित बनाउनका लागि कार्यरत संस्था हो । सुरक्षित इन्टरनेट दिवस मनाउनका लागि चाइल्डसेफनेटले चेतनामूलक भिडियो, डिजिटल पोष्टर, तालिम तथा शैक्षिक पाठ्यक्रम, हाजिर जवाफ सामग्री उत्पादन तथा सम्प्रेषण गर्दै चेतना अभिवृद्धि कार्यक्रमहरू आयोजना गरिरहेको छ । यसै क्रममा हालै सम्पन्न कम्प्यूटर एसोसिएशन नेपाल – ईन्फोटेक २०१९ मा विभिन्न चेतना र सूचनामूलक कार्यक्रम गरि चाइल्डसेफनेटले प्रत्यक्ष रुपमा ५०,००० भन्दा बढी बालबालिका, युवा, अभिभावक र अन्य इन्टरनेट प्रयोगकर्तालाई साइबर सुरक्षा सम्बन्धी जानकारी गराएको छ । चाइल्डसेफनेटले साइबर सुरक्षा सम्बन्धी रिसर्च तथा सर्वेक्षण गर्नका साथै बालबालिका, युवा वर्ग, अभिभावकहरू तथा शिक्षकहरूका लागि साइबर सुरक्षासम्बन्धी प्रशिक्षण तथा छलफल कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?